Saturday, January 01, 2011

अन्तर्राष्ट्रिय कराँतेमा नेपाल प्रथम

झापा, १७ पुस ÷ भारतको पुनेमा आयोजित अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा १३ स्वर्णसहित नेपाल प्रथम भएको छ ।
प्रतिस्पर्धामा नेपालले १२ स्वर्ण, ३ रजत र १ काश्य प्राप्त गरेको थियो । प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र १ काश्य सहित भारतले दोश्रो स्थान, ५ रजतसहित श्रीलंका तेस्रो र ४ स्वर्णसहित बंगलादेशले चौथो स्थान प्राप्त गरेको अन्तर्राष्ट्रिय रेफ्री एवम् नेपाली टोली प्रमुख राजु महर्जनले बताए । इरान र भूटानले स्वर्ण पदक जित्न सकेन ।
नेपालका लागि मञ्जिल पौडेलले ३५ केजी तौल समूह र कातामा २ स्वर्ण, बमबहादुर श्रेष्ठले ५५ केजी तौल समूह र कतामा २ स्वर्ण, मोहन श्रेष्ठले ४५ केजी तौल समूह र कातामा २ स्वर्ण, दिनेश लामाले ६० केजी माथि र कातामा २ स्वर्ण मनिता मगरले ४५ केजी र कातामा २ स्वर्ण, राजु शिवाकोटीले १ स्वर्ण, राम राईले १ रजत, जमुना तामाङले स्वर्ण र १ रजत, जमुना राईले २ काश्य र जुनु तामाङले १ काश्य जित्न सफल भइन् । महर्जनको नेतृत्वमा रहेको टोलीमा २० जना खेलाडी सहभागी थिए ।
पुस ५ गते भारत गएको टोलीलाई नाइट चेस क्लवका संस्थापक अध्यक्ष स्व. अरुणकुमार श्रेष्ठले सफलताको अग्रीम शुभकामनासहित काँकरभिट्टाबाट विदाई गरेका थिए । टोलीले प्रथम स्थान जितेर शनिबार स्वदेश फर्किँदा श्रेष्ठलाई भेट्न पाएनन् ।

नेपाल आदिबासी जनजाति युवा महासंघ गठन


विर्तामोड, १६ पुस ÷ आदिबासी जनजाति युवा महासंघको झापा जिल्ला समितिको अध्यक्षमा कैलाश थापामगर चयन भएका छन् । यहाँस्थित नेपाल आदिबासी जनजाति महासंघको कार्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा १५ सदस्यीय जिल्ला समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा वीरेन मेचे, सचिवमा सलुजा चौधरी, सहसचिवमा टेकनारायण गणेश र कोषाध्यक्षमा निङ्सा लिम्बू चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मुना सुनुवार, विशाल सुनुवार, रवि दनुवार, विजय पाठक, सन्तोष गणेश, सुमन केरुङ, अनिल राई, ज्ञानबहादुर धिमाल, सिर्जना मेचे र इन्द्र चौधरी चयन भएका छन् ।
युवा महासंघ केन्द्रीय सदस्य सचिव भरतकेशर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ झापाका अध्यक्ष प्रेम घिसिङ, युवा महासंघका केन्द्रीय सदस्यहरु आरके राई, तेजकुमार आले, मातृका धिमाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन युवा महासंघका केन्द्रीय सदस्य तथा मध्यमाञ्चल उपत्यका संयोजक मीना श्रेष्ठले गरेकी थिइन् भने नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथिले शुक्रबारै पदभार तथा सपथ गराइएको कार्यालय सचिव रोशनी मेचेले जानकारी दिइन् ।